कर्णाली याक्सले दियो चितवन राइनोजलाई १५४ रनको लक्ष्य

काठमाडौं. २९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले हुसेन तलतको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको हो ।

कर्णालीका लागि हुसेन तलतले उत्कृष्ट ब्याटिङ गर्दै ३३ बलमा २ चौका र १ छक्कासहित अविजित ५१ रन बनाए । यस्तै, ओपनर अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै १५ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३५ रन जोडे ।

पवन सर्राफले २१ बलमा २ छक्कासहित १५ रन बनाउँदा गुल्सन झाले अन्तिमतिर आक्रामक ब्याटिङ गर्दै ६ बलमा १ चौका र २ छक्कासहित १८ रन बनाए ।

यस सिजन पहिलो खेल खेल्दै ओपनिङमा आएका चसिन शर्मा खाता नखोली आउट भए । दीपक डुम्रेले ७, कप्तान डेभिड मिलरले ५, सोमपाल कामीले ४ र मार्क वाटले ६ रन बनाए । नन्दन यादव २ रनमा अविजित रहे ।

चितवन राइनोजका लागि बलिङतर्फ कमल सिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले समान २ विकेट लिए । यस्तै, रिजन ढकाल र कप्तान सिकन्दर राजाले १–१ विकेट हात पारे ।

अब चितवन राइनोजले जितका लागि निर्धारित २० ओभरमा १५४ रन बनाउनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *