एसइईको नतिजा आज साँझसम्म सार्वजनिक हुने, नतिजा यसरी हेर्नुहाेस

भक्तपुर, २१ असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य भइसकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एसइईको नतिजा आज साँझसम्ममा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका छौँ, प्राविधिक समस्या नआए आजै नतिजा सार्वजनिक हुन्छ ।

बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गर्ने निर्णय गरिसकेको छ । विसं २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ । विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ ।

नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालित परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसइईमा सहभागी थिए ।

नतिजा यसरी हेर्नुहाेस
राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसइई परीक्षाको नतिजाका लागि विद्यार्थीले वेबसाइड, एसएमएस र आइभिआरबाट हेर्न सकिन्छ । परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा पनि नतिजा हेर्न सक्ने व्यबस्था गरेको छ । त्यस्तै एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, www.khaltif\.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconncetplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.nepaleducatipnportal.com, www.ayoresult.com, ww.results.matraeducation.com, www.tuteeline.com बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।