दैलेखमा भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण
दैलेख, २१ असार । दैलेखमा भारत सरकारको सहयोगमा निर्माण गरिएकाे सामुदायिक विद्यालय भवन स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।
भारतीय राजदूतावासको विकास साझेदारी परियोजना अन्तर्गत निर्माण भएका सामुदायिक विद्यालय भवन स्थानीय निकायलाई सोमबार हस्तान्तरण गरिएको दूतावासले जनाएको छ ।
राजदूतावासका विकास साझेदारी प्रभागका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो ।
नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको रु १० करोड ८६ लाख आर्थिक सहयोगमा दैलेखको लालिकाँडास्थित मालिका उच्च माध्यमिक विद्यालय, बडाभैरवस्थित भैरव माध्यमिक विद्यालय, बडाखोलास्थित जगदिश माध्यमिक विद्यालय र रामपुरस्थित नारायण क्याम्पसका भवन निर्माण गरिएको हो ।
भवन हस्तान्तरणको अवसरमा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसी, भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापा, महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्मा (पाण्डे), नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माका साथै समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारीलगायतको उपस्थिति थियो ।
विद्यालय र क्याम्पस भवनले त्यस क्षेत्रका विद्यार्थीलाई शैक्षिक पूर्वाधारमार्फत गुणस्तरीय शिक्षा उपलब्ध गराउन सहयोग पुग्ने जनाइएकाे छ ।