कपिलवस्तुमा सर्पको टाेकाइबाट चार जनाको मृत्यु

कपिलवस्तु, २६ असार । सर्पले टाेकाइबाट कपिलवस्तुमा दुई दिनमा चार जनाको मृत्यु भएको छ ।

सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको टाेकाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको मृत्यु भएको हाे ।

मृत्यु हुनेमा नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसाल रहेकाे गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो ।

दुवैजना आफ्नो हजुरआमासँग एकतले घरको भुइँमा सुतेका थिए । बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि लगत्तै स्थानीय अस्पतालमा पुर्याइएको थियो । उपचार सम्भव नभएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एक जनाको बाटोमा र अर्काको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

यसैगरी सोमबार बिहान बुद्धभूमि नगरपालिका–१० की १६ वर्षीया ममता रैदासको पनि सर्पको डसाइबाट मृत्यु भएको छ । सर्पले डसेलगत्तै उहाँलाई नजिकै रहेको गोरुसिङ्गेस्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्र लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि तौलिहवा जिल्ला अस्पताल पठाइएको थियो तर त्यहाँका चिकित्सकले ढिलो भएकाले बचाउन नसकिएको बताएका थिए ।

सोमबार नै महाराजगन्ज नगरपालिकाकी ३० वर्षीया अनिता यादवको सर्पको डसाइबाट मृत्यु भएको थियो । दिउँसो साढे १ बजेको समयमा घर नजिकै रहेको पराल निकाल्ने क्रममा उहाँलाई गोमन सर्पले डसेको थियो । लगत्तै सोही उपचार केन्द्रमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार नभएपछि बुटवल लैजाँदै गर्दा उहाँको पनि बाटोमै निधन भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *