मध्यपुर थिमि नगरपालिकाले एक सय ५० शय्याको अस्पताल बनाउन कोरियासँग सम्झौता गर्दै
भक्तपुर, २६ असार । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले एक सय ५० शय्याको सुविधा सम्पन्न अस्पताल बनाउन नेपाल सरकार र गणतन्त्र कोरियाबीच सम्झौता गरेकाे छ ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क, ते–योङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
संझौताअनुसार नेपाल–कोरिया मैत्री नगर अस्पताललाई विस्तार गर्न अमेरिकी डलर ९५ लाख (रू एक अर्ब २५ करोड ४० लाख) लगानी गरिने भएको छ ।
सो परियोजनामा आगामी पाँच वर्ष (सन् २०२७) सम्ममा पूरा गरिसक्ने लक्ष्य रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहकार्य एवम् समन्वयमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका), मध्यपुर थिमि नगपालिका र उक्त अस्पताल संयुक्त रहने भएको छ।
संझौताअनुसार नगरपालिका अस्पतालको छेउमा रहेको जग्गामा एक सय ५० शय्याको नयाँ अस्पताल निर्माण गरिने र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने तथा कर्मचारीका लागि क्षमता विकासका काम गरिने जनाइएको छ ।
हस्ताक्षर कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेलले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अभिवृद्धि गर्ने यस साझेदारीका लागि कोरिया सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभयो । यो परियोजनालाई सफलरूपमा कार्यान्वयनमा ल्याउन सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
नेपालका लागि कोरियाली राजदूत पार्क, ते–योङले नयाँ अस्पताल सर्वसाधारणका लागि निकै उपयोगी हुने बताउँदै यस परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारका तर्फबाट पूर्ण सहयोगको अपेक्षा रहेको बताउनुभयो । द्विपक्षीय कूटनीतिक सम्बन्धको ५०औंँ वर्षगाँठ मनाउन कोरिया इन्छुक रहेको पनि उहाँको भनाई थियो ।
त्यसअवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कोइका र उक्त अस्पतालका प्रतिनिधिको उपस्थिति थियो ।