नेपाली चलचित्रलाई सेभेन सिजले विश्वभर प्रदर्शन गर्ने
काठमाडाैं, २६ असार । नेपाली चलचित्रलाई सेभेन सिजले विश्वभर प्रदर्शन गर्ने भएका छन् ।
नेपाली चलचित्रको बजार स्वदेशसँगै विदेशमा पनि बढिरहेका कारण सेभेन सिजले विश्वभर प्रदर्शन गर्नलागेकाे हाे ।
सिजले नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारलाई उद्योगकारूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।
विशेषतः डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि बजार विस्तार हुने क्रम बढेको छ । सुरुआती समयमा सेल्युलोइड प्रविधिमा चलचित्र उपत्यकाबाहिर वा भित्रमात्र प्रदर्शन गरिन्थ्यो । प्रिन्ट तयार गर्न खर्च हुने भएकाले एकसाथ नेपालभर प्रदर्शन सम्भव थिएन ।
अहिले भने समय बदलिएको छ । नेपाल मात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेको छ । विदेशमा प्रदर्शन अनुमतिका लागि समयमा नै जाँचपास हुने हो भने विश्वभर जहाँबाट पनि एकसाथ नेपाली चलचित्र प्रदर्शन गर्न सकिन्छ ।
नेपालमा ‘डिजिटल यात्रा’ को सुरुआत भुषण दाहालले निर्देशन गर्नुभएको ‘कागबेनी’ बाट भएको हो । डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक भएको निर्देशक निर्माताको भनाइ छ ।
डिजिटल प्रविधिले एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सक्ने गरी नयाँ युगमा प्रवेश गर्यो । डिजिटल प्रविधिको सुरुआतसँगै प्रिन्टको डब्बा लिएर चलचित्र भवन धाउनुपर्ने बाध्यता हट्यो । यसले एउटै समयमा नेपालभर चलचित्र प्रदर्शन गर्न सहज बनायो ।
पछिल्लो समय नेपालमै डिजिटल सिनेमा इनिसेटिभ (डिसिआई) ढाँचामा चलचित्र इन्कोडिङ गरेर विश्वभर प्रदर्शन गर्न सकिन्छ । यही कारण पनि नेपालसँगै विश्वभर एकै मितिमा चलचित्र प्रदर्शन हुने गरेको छ ।
पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेको छ । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार भइरहेको छ ।
मौलिक कथा र कलात्मक प्रस्तुति रहेको नेपाली चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायत देशमा बजार विस्तार भइरहेको छ । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले हलमै दर्शकले हेर्न पाउँछन् ।
मध्यपूर्वको निप फिल्म्स, अष्ट्रेलियाको जानवी इन्टरटेनमेन्ट र अमेरिकाको नेपाल एलेभन इन्टरटेनमेन्ट मिलेर स्थापना गरिएको सेभेन सिज कम्पनीले नेपालसँगै विश्वभर एकसाथ चलचित्र प्रदर्शन गर्ने प्रदर्शक विनोद पौडेलले जानकारी दिनुभयाे ।
एकै कम्पनीले चलचित्रको प्रदर्शन अधिकार खरिद गर्दा निर्माण पक्षलाई सहज हुने निर्माता तथा अभिनेता खगेन्द्र लामिछाने बताउनुहुन्छ । “यसरी एकै पटक सम्झौता गरेर चलचित्रको प्रदर्शन अधिकार बिक्री गर्दा निर्माण पक्षले धेरै झन्झटबाट मुक्ति पाउँछन् ।
ऋभिनेता लामिछानेको लेखन तथा निर्माण रहेको चलचित्र ‘पशुपति प्रसाद २ भष्मे डन’ नेपालबाहेक प्रदर्शन अधिकार खरिद गरेको सेभेन सिजले एक हजार पाँच सयभन्दा बढी प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।