यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडाैं, २८ असार । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाे छ ।

अहिले मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ ( नेपाल नजिक) अवस्थित रहेको छ।

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ‍केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

राति भने देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ भने मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

हावा-हुरी, भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।