आठराई त्रिवेणी गाउँपालिकाले दियाे सुत्केरीलाई पोषणयुक्त खाद्य प्याकेज

ताप्लेजुङ, २९ असार । ताप्लेजुङकाे आठराई त्रिवेणी गाउँपालिकाले गाउँका सुत्केरीलाई पोषणयुक्त खानेकुरा वितरण गरेकाे छ ।

आमा र बच्चाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य परामर्शसहित पोषणयुक्त खानेकुराको प्याकेज वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।

सुत्केरी र बच्चाको स्वास्थ्य सुरक्षा सुनिश्चिताका लागि गाउँपालिकाले ‘उपाध्यक्षसँग सुत्केरी आमा–स्वास्थ्य, सरसफाइका साथै पोषिलो खाना’ कार्यक्रम बनाएरै कार्यान्वयनमा ल्याएको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुले बताउनुभयो ।

गाउँपालिकाका विभिन्न वडा तथा टोलमा पुगेर सुत्केरीलाई पोषणयुक्त खाद्य प्याकेज प्रदान गरिरहेको गाउँपालिका उपाध्यक्ष शान्ता आङ्बुहाङले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न वडाका गरी दुई सयभन्दा बढी सुत्केरीलाई उक्त प्याकेज वितरण गरिसकिएको छ । बाँकी रहेकालाई समेत वितरण गर्ने कार्यक्रम जारी राखिएको छ ।

खाद्य प्याकेजमा स्थानीय स्तरमा पाइने घीउ, सिमी, अण्डा, चना, मटर लगायतका खानेकुरा, साबुनसहितका नौ प्रकारका सामग्रीसहितको झोला वितरण भइरहेको आङ्बुहाङले बताउनुभयो ।

आगामी आवदेखि सुत्केरी भएको एक महिनाभित्रै सुत्केरी महिलालाई उक्त प्याकेज पुर्याउने योजना छ । उक्त प्याकेज वितरणका लागि जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीसमेत खट्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *