रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु

रोल्पा, ३१ असार । रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

असार २८ गते जंगली च्याउ खाएर दुई बालक र उनीहरुकी आमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

जंगली च्याउ खाई बिरामी परेपछि २८ असारमै उनीहरुलाई उपचारका लागि सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल वुटवल लगिएको थियो । उनीहरु तीनै जनाको बुटवलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिए ।

मृत्यु हुनेमा लुंग्री गाउँपालिका–५ कालापोखरा घर भएका ३३ वर्षिया भीमा गुरुङ उनका ११ वर्षका छोरा सुशील गुरुङ र ६ वर्षका छोरा प्रेम गुरुङ रहेका छन् ।

६ वर्षका प्रेम गुरुङको २८ असारमा, ११ वर्षका सुशील गुरुङको ३० असारमा र आमा भीमाको आइतबार मृत्यु भएको प्रहरीले जनाएकाे छ ।