म्याग्दीमा निर्माण भयाे १३ पक्की पुल

म्याग्दी, ७ साउन । म्याग्दीका विभिन्न स्थानमा १३ पक्की पुल निर्माण भएका छन् ।

म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्‍याउने उद्देश्यले गण्डकी प्रदेश र सङ्घ सरकारको लगानीमा १३ पक्की पुल निर्माण भएका हुन् ।

प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङले दुई र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एक पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार छ पुल निर्माण सम्पन्न भई यातायातका साधन सञ्चालन भइसकेका छन् भने अन्य पुल निर्माण सम्पन्न भए पनि औपचारिक रुपमा सञ्चालनमा आउन बाँकी रहेको अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार अन्नपूर्ण गाउँपालिकाको हिस्तान र राम्चेलाई जोड्ने सन्सारी खोला पुल, मालिका गाउँपालिका केन्द्र दरवाङको छयारछेरेको म्याग्दी खोलामा निर्माण भएको पुल र मराङ बेँसी अर्कला पुल निर्माणसँगै विकट ग्रामीण बस्ती पालिकाका केन्द्र र सदरमुकामसँग जोडिएका छन् ।

बिमदेखि मराङ र मल्कबाङलाई जोड्ने अर्कलामा रू दुई करोड ७२ लाखमा फेवा सावित्री जेभी पोखराले पुल निर्माणको जिम्मा लिएको थियो । म्याग्दीका विभिन्न बस्तीलाई सहरसँग जोड्ने गरी धमाधम पुल निर्माणले गति लिन थालेपछि स्थानीय उत्साहित भएका छन् ।