क्वाटरमै महिलासँग अनैतिक कार्य गर्ने डम्बरुलाई नगरपालिकामा प्रवेश रोक लगाउँदै दमकका जनप्रतिनिधि
काठमाडौं, १६ साउन । सरकारी निवासमै महिलासँग अनैतिक कार्य गर्ने झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलालाई मेयर राम थापाले संरक्षण गर्न खोजेको भन्दै १३ जना कार्यपालिका सदस्यले विज्ञप्ति निकालेर विरोध गरेका छन् ।
कार्यपालिका सदस्यहरु लोकबहादुर धिताल, शारदा भट्टराई सापकोटा, इन्द्र गुरुङ, हरि न्यौपाने, प्रजापति सापकोटा, नविन बराल, टेकबहादुर थापा, धर्मप्रसाद दाहाल, कुबेरप्रसाद भट्टराई, ख्यामकुमारी परियार, कमला खाती, विना साह र देबका भुजेल, गौतम गुप्ता र शेरबहादुर गजमेरले जारी गरेको विज्ञप्तिमा निरौलाको संरक्षणमा दमकका मेयर नै लागेको आरोप लगाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृतको क्वाटरमा निरौलाको एक महिलासँगको अनैतिक कार्य गरेको भिडियो फुटेज बाहिर आउँदा पनि कार्यपालिका बैठक नबोलाएको र घटना ढाकछोप गर्न मेयर उद्यत रहेको उनीहरुको आरोप छ ।
सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यमहरुमा भिडिओ तथा यससम्बन्धी टीकाटिप्पणी आइरहँदा नगर कार्यपालिकाको आपतकालीन बैठक तत्काल बस्न माग गरेको उनीहरुले उल्लेख गरेका छन् ।
आपतकालीन बैठकको माग गर्दा पनि नगरपालिकाका प्रमुख थापाले चासो नदेखाएको उनीहरुको आरोप छ । बरु घटना ढाकछोप गर्ने उद्देश्यका साथ उक्त घटना भएको कोठामा रंगरोगन गरी घटनालाई ढाकछोप गर्न उद्यत भएको देखिएको आरोप उनीहरुको छ । कार्यपालिका सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत निरौलालाई नगरपालिकामा प्रवेश तथा हाजिर गर्न रोक लगाउन मागसमेत गरेका छन् ।