संवैधानिक परिषद्को बैठक सुरु, विश्वम्भर श्रेष्ठ प्रधानन्यायाधीश सिफारिस हुँदै

काठमाडौं, १६ साउन, । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सुरु भएकाे छ । परिषद्को बैठकले आगामी शुक्रबारदेखि रिक्त हुने प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेछ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिन मात्रै बाँकी रहेको छ । संवैधानिक व्यवस्था अनुसार, १९ असारमा नै प्रस्तावित प्रधानन्यायाधीशको नाम सिफारिस हुनुपर्नेमा बैठक नै ढिलो बसेको हो ।

बैठकले वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस हुँदैछन् । संविधानमा सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भएको व्यक्ति प्रधानन्यायाधीशका लागि योग्य हुने व्यवस्था छ ।

यसअघि बैठक बोलाउन दबाब दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर दबाब दिएका थिए ।

हाल सर्वोच्च अदालतमा तीन वर्ष अवधि पार भएका ११ जना न्यायाधीश रहेका छन् । विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्द मोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मा प्रधानन्यायाधीशका उम्मेदवार हुन् ।

६५ वर्षे उमेरहदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्की आगामी शुक्रबारदेखि अवकाश हुँदैछन् । उनीपछि वरिष्ठतम न्यायाधीशका हैसियतले विश्वम्भर श्रेष्ठ नै कामु प्रधानन्यायाधीश हुनेछन् ।