माओवादी केन्द्रका नेताहरुको जिम्मेवारी फेरबदल, कसले के जिम्मेवारी पाए ?

काठमाडौं, २१ साउन । नेकपा माओवादी केन्द्रले पदाधिकारीकाे जिम्मेवारीमा फेरबदल गरेकाे छ ।

आइतबार बिहान बसेको पदाधिकारी बैठकले जिम्मेवारीमा फेरबदल सहित ४०७ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकेको हो ।

केन्द्रीय समिति बस्नुअघि पदाधिकारी बैठकमार्फत अध्यक्ष प्रचण्डले जिम्मेवारी फेरबदल गर्नुभएकाे हाे ।

जिम्मेवारी फेरबदल भएपछि उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी एकता र समाजवादी मोर्चाको जिम्मेवारी पाउनुभएकाे छ । अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रचार प्रसारको जिम्मेवारी पाउनुभएकाे छ । यसैगरी पम्फा भुसालले जनवर्गीय संगठन हेर्ने जिम्मा पाउनुभएकाे छ ।

त्यस्तै उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाउनुभएकाे छ भने अर्का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाउनुभएकाे छ ।

यस्तै देवेन्द्र पौडेलले मधेस प्रदेशको जिम्मेवारी पाउनुभएकाे छ । यसैगरी कर्णालीमा चन्द्रप्रकाश खनाल बलदेव, सुदुरपश्चिममा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाउनुभएकाे केन्द्र निकट एक नेताले बताउनुभयाे ।