हेटौँडामा छठ पूजाको तयारी तीव्र, ६० हजार भक्तजन सहभागी हुने अपेक्षा

काठमाडौं, २६ कात्तिक ।  तिहार सकिएसँगै हेटौँडामा छठ पूजाको तयारी तीव्र पारिएको छ । छठ पर्वलाई व्यवस्थित र भव्य बनाउन राप्ती नदी किनारमा आवश्यक संरचना निर्माणको काम भइरहेको छ ।

हेटौँडास्थित राप्ती नदीको दायाँ किनारमा छठ पूजाका लागि सात फिटको पण्डालसहित करिब ६० हजार भक्तजन सहभागी हुन सक्ने क्षमताको संरचना निर्माण गरिएको छठ पूजा समिति हेटौँडाका संयोजक रवि गुप्ताले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो २० वर्षयता हेटौँडामा छठ पूजाप्रतिको आकर्षण निरन्तर बढ्दै गएको छ । पूजालाई भव्य, सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयसहित सुरक्षा निकायसँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।

समाजसेवी एवं संस्कृत वेद विद्यालय हेटौँडाका अध्यक्ष रामकृष्ण थापाले पछिल्ला वर्षमा तराईका विभिन्न जिल्लाबाट सेवा, पेसा तथा व्यवसायका सिलसिलामा हेटौँडामा बसाइँ सर्ने क्रम बढेसँगै छठ पर्वको रौनक पनि थपिँदै गएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *