एक महिने गुंला पर्व आजबाट शुरु
काठमाडौं, ३२ साउन । एक महिनासम्म चल्ने गुंला पर्व आजदेखि आरम्भ भएको छ । उपत्यकाका नेवार समुदाय यो महिनाभरि विभिन्न धर्मकर्ममा लाग्ने गर्दछन् ।
खास गरी उपत्यकाका बौद्ध नेवारहरू यो महिनाभरि विभिन्न बौद्ध स्मारक, चैत्य, बहाःबही आदि जस्ता धार्मिकस्थलमा पुगी प्रदक्षिणा, पूजा, स्तोत्र पाठ आदि जस्ता कार्य गर्दछन् ।
काठमाडौंमा यो महिनाभरि स्वयम्भू महाचैत्यमा ठूलो मेला लाग्ने गर्दछ । काठमाडौंका विभिन्न टोलका बौद्ध धर्मावलम्बीहरू आजदेखि धाः बाजा बजाई स्वयम्भू महाचैत्यको दर्शन गर्न जान्छन् । गुंला पर्वका बेला धाः बाजा बजाई स्वयम्भू प्रदक्षिणा गर्न विभिन्न टोलमा विभिन्न जातीय समुदायको आआफ्नै बाजा समूह पनि बनाइएको हुन्छ ।
त्यस्तै यो महिनाभरि स्वयम्भू महाचैत्यमा विभिन्न बौद्ध स्तोत्र पाठ गर्ने चलन पनि रहेको छ । यसमा खास गरी वज्रयानी बुद्ध धर्मसँग सम्बन्धित नवग्रन्थका सूत्रहरू पाठ गर्ने परम्परा रहेको छ । यसमा विशेष गरी प्रज्ञापारमिता, पञ्चरक्षा पाठ गर्ने चलन रहेको छ ।
यही बेला ललितपुर क्षेत्रमा भने धाः बाजाका साथसाथै राँगाको सिँगले बनाइएको श्रृंगभेरी अर्थात ‘न्यकू बाजा’ बजाई विभिन्न बौद्धस्थलको प्रदक्षिणा गर्न जाने चलन रहेको छ । खास गरी यही वर्ष दिवंगत भएका आफन्तहरूको सम्मानमा यस्तो सिँग बाजा बजाउने गरिन्छ । यसलाई स्थानीय भाषामा ‘बोगी वनेगु’ भनिन्छ ।
उपत्यकाका केही समुदायमा भने यो महिनाभरि माटाका साना साना बुद्ध मूर्ति र चैत्य बनाउने कार्य पनि गरिन्छ । यसलाई ‘लक्ष्यचैत्य’ बनाउने भनिन्छ । यो लक्ष्य चैत्य बनाउने कार्य भने अत्यन्त नियमपूर्वक गर्नुपर्ने परम्परा रहेको छ । एक महिनाभित्र सवा लाख वटा लक्ष्य चैत्य बनाउनु पर्दछ । यसरी बनाइएका चैत्यहरूलाई नयाँ बन्दै गरेको कुनै चीभाःको गर्भगृहमा स्थापित गर्ने वा खोलामा सेलाउने गरिन्छ ।
नेपाल संवत्को क्यालेण्डरमा दशौं महिनाका रुपमा गुंला पर्दछ । पुराना ग्रन्थहरूमा यसलाई ‘गुणिला’ भनी उल्लेख गरिएको छ । यसको अर्थ हुन्छ ‘गुणले भरिएको महिना’ । ‘गुणिला’ शब्द नै पछि ‘गुंला’ बन्न गएको हो । यो महिनामा अत्यन्तै धार्मिक कार्य गरिने भएकोले यसलाई ‘गुणिला’ भनिएको हो ।
श्रावण–भाद्र महिनामा निरन्तर पानी परिरहने भएकोले यो महिना नदीहरूमा बाढी आउने, चट्याङ पर्ने, पहिरो जाने जस्ता प्राकृतिक विपद्हरू आइरहेको हुन्छ । त्यस्ता विपद्हरूबाट कुनै धनजनको क्षति नहोस् भन्ने कामना गर्न पनि यो महिनाभरि धार्मिक कार्य गरिने विश्वास गरिन्छ ।
गुंला महिना अघि सबैको धान रोप्ने कार्य सकिएको हुन्छ । रोपाइँबाट फुर्सद मिलेको समयलाई धर्मकर्ममा लगाउने उद्देश्यले पनि यो महिनाभरि विभिन्न धार्मिकस्थलहरूमा गई पूजा, पाठ, प्रदक्षिणा गर्न थालिएको हुनुपर्दछ ।
काठमाडौंमा मनाइने विशेष चाड पर्व र जात्राहरू पनि यही महिनामा मनाउने गरिन्छ । जस्तो गुंपुन्हि (जनै पूर्णिमा), सापारु (गाईजात्रा), नाग पञ्चमी, कृष्णाष्टमी, पञ्चदान, गोकर्ण औंशी (अबुया ख्वाः स्वये) आदि जस्ता पर्वहरू यही महिनामा मनाइन्छ ।
आजैका दिनदेखि काठमाडौंका विभिन्न टोलहरूमा दाफा भजन गाउने चलन पनि रहेको पाइन्छ ।