सांस्कृतिक सम्पदा सरसफाइमा सेनाको हातेमालो

काठमाडौं, ३ भदौ । श्रावण भदौ वर्षातको महिना भएकोले दिनहुँजसो झरी परिरहेको हुन्छ । पानीकै कारण सर्वसाधारणको घर लगायत देवीदेवताको बास रहने मन्दिरहरूमा पनि घाँस, लेउ आदि उम्रेर फोहोर देखिएको हुन्छ । पछि त्यही घाँसले मन्दिरको संरचनामा क्षति पनि पु¥याउन सक्दछ । त्यसैले काठमाडौंमा श्रावण–भदौ महिनामा खास गरी देवालय शिवालयहरूमा उम्रेका घाँस उखेली सरसफाइ गर्ने परम्परा नै रहेको छ ।

काठमाडौंका मन्दिरहरूमा त्यसरी घाँस उखेली सरसफाइ गर्ने कार्यमा अहिले भने नेपाली सेना पनि सहभागी हुन थालेको छ । हिजो शनिवार काठमाडौंको ऐतिहासिक जैसी देवल मन्दिर क्षेत्र सरसफाइ गर्ने कार्यमा हनुमानढोकास्थित शार्दुल जंग गुल्मका जवानहरू पनि सरिक भएको थियो ।

स्थानीय जैसी देवल क्लबले आयोजना गरेको मन्दिर सरसफाइ कार्यमा क्लबकै अनुरोध बमोजिम गुल्मका सैनिक जवानहरू सहभागी भएको थियो ।

गुल्मका गुल्मपति सेनानी पूर्ण प्रजापतीका अनुसार जैसी देवल सरसफाइ कार्यमा गुल्मका २५ जना जवानहरू सहभागी भएका थिए ।

स्मरणीय छ, विसं २०७२ सालको भूकम्पमा पूर्ण रुपमा क्षति भएको जैसी देवल मन्दिर पुनर्निर्माण गरी नयाँ बनाइएको हो ।

गत श्रावण २७ गते शनिवार कामपा २३ वडाको अनुरोधमा २३ वडा भित्र रहेका विभिन्न सम्पदा क्षेत्र सरसफाइ गर्ने कार्यमा पनि गुल्मका जवानहरू सहभागी भएको थियो ।
गुल्मपति सेनानी प्रजापतीका अनुसार काठमाडौंका अन्य ठाउँबाट पनि यदि सांस्कृतिक सम्पदा, स्मारकहरू सरसफाइका लागि अनुरोध आएमा त्यहाँ पनि जवानहरूलाई खटाउन सकिन्छ ।

मैत्री न्यूजसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘स्थानीय संस्था, स्थानीयवासीहरूले आयोजना गर्ने सार्वजनिक महत्वका कार्यहरूमा हातेमालो गर्न हामी सधैँ तयार छौँ ।’

स्मरणीय छ, काठमाडौंका सार्वजनिक मन्दिर, अझ विशेष गरी स्वयम्भू क्षेत्रमा असार–श्रावण महिनामा घाँस उखेली सरसफाइ गर्न गुठीको समेत व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *