‘भूपूको धन, उद्योगमा मन’ अभियानसहित नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन वडा छिर्दै

भक्तपुर, ६ भदौ ।  वि.सं. २०४७ सालमा ‘नेपाल राष्ट्रिय स्वतन्त्र भूतपूर्व सैनिक संगठन’ को नाममा तदर्थ समितिका नामबाट अस्तित्वमा रहेको संगठने २०५१ साल भदौ ६ गते आफ्नो पहिलो सम्मेलन गरेको थियो । २०५१ सालमै नेकपा (एमाले)को जनवर्गीय संगठनको मान्यता पाएको यो संगठनले २०७८ सम्म आइपुग्दा आफ्नो पाँचौ राष्ट्रिय अधिवेशन गर्न सफल भएको देखिन्छ । नेकपा (एमाले)को दशौं महाधिवेशनपछि नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको परिचयबाट गतिविधि गर्दै आएको यो संगठनले अहिले आफूलाई नेकपा (एमाले)को शक्तिशाली जनसंगठनको परिचय स्थापित गरेको छ ।

यो संगठन अहिले जिल्ला, प्रदेश हुँदै वडा तहसम्म संगठन विस्तार अभियानमा जुटेको छ । यो संगठन ‘भूपूको धन, उद्योगमा मन’ अभियानसहित वडातहसम्म संगठन विस्तार र उद्यमी अभियानमा जुटेको संगठनको भनाई छ ।

प्रदेश, जिल्ला हुँदै पालिका र वडातहसम्म आफ्नो संगठन विस्तार गर्दै अघि बढेको यो संगठनले भोलि भक्तपुर जिल्लामा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आथित्यतामा बृहद भेलाको तयारी गरेको छ । भेला तयारीबारे जानकारी दिँदै एमालेका केन्द्रीय सदस्य समेत रहनु भएका सो संगठनका इञ्चार्ज यज्ञराज सुनुवारले टोलटोलमा भन, भूपूमा मन’ भन्ने नाराका साथ भव्य कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा सम्वोधन गर्दै संगठनका केन्द्रीय अध्यक्ष विनोद पाण्डेले आफूहरु भूतपूर्व सुरक्षाकर्मी भएकाले सबै भन्दा बढी माटोको माया भएको स्मरण गराउनुभयो । ‘देशको अस्मिता र देशको सार्वभौमसत्ता पूर्णरुपमा हामीसँग हुनुपर्छ र हामी राष्ट्रको सुरक्षा गर्न तयार हुनुपर्छ । राष्ट्रका लागि हामी र हामी भन्दा अग्रजहरुले पनि यो राष्ट्रका लागि निकै ठूलो रगत–पसिना बगाउनु भएको छ,’ उहाँले भन्नुभयो, ‘नेपाल भन्ने देश पहिलादेखि नै अडिक थियो । नेपाल कहिल्यै कसैको पनि उपनिवेशवाद बनेन । साधन–स्रोतलेयुक्त देशले पनि नेपालका सामू घुँडा टेकेको स्वर्णिम इतिहास हामीसँग छ । हामीले अहिले साधन–स्रोतले पनि विस्तारै सम्पन्न बन्दै गएका छौँ । त्यसैले अब त झन् हामीले त्यो स्वर्णिम इतिहासलाई जोगाउँदै अझ देशको अस्मिता र देशको सार्वभौमसत्ताको रक्षा गर्दै अघि बढ्नु पर्ने दायित्व हाम्रा सामू छ ।’

उहाँले आफूसँग भएको ज्ञान र सीपलाई यहि माटोमा खर्च गर्ने अठोट लिनुपर्नेमा जोड दिनुभयो । ‘हामी भूतपूर्व सैनिक तथा प्रहरी मात्रै होइनौँ । हामी अहिले पार्टीका इमान्दार सिपाही पनि हौँ,’ उहाँले भन्नुभयो, ‘त्यसैले पार्टीले अघि सारेको सुखी नेपाली समृद्ध नृेपालको आकांक्षलाई पनि आत्मसाथ गर्दै अघि बढ्नुपर्ने जिम्मेवारी हाम्रा सामू छ । शान्ति र सुरक्षालाई सँगसँगै लिएर गएको अवस्थामा मात्रै हामीले त्यो आकांक्षलाई पूरा गर्न सक्छौँ ।’

उहाँले फौजीमा हुँदा देशका लागि लडेको स्मरण पनि गराउनुभयो । ‘अहिले हामी फौजीबाट अवकाश मात्रै भएका हौँ तर देशको सेवाका लागि थाकेका छैनौँ । हामीसँग देश–विदेशमा बसेर काम गरेको अनुभव छ, हामीसँग उर्जा छ, ज्ञान छ । हामीसँग सीप छ,’ उहाँले भन्नुभयो, ‘हामीले विश्वका द्वन्द्वग्रस्त र गरिब देशका लागि कमाण्ड सम्हालेर ती देशको उत्थानमा योगदान गरेको अनुभव छ । हामी नेपाल देशका धर्तीपुत्र हौँ, त्यसैले यो देश र यहाँको माटोका लागि हामी मर्न तयार छौँ ।’

उहाँले सेवाबाट अवकाश भएपछि विदेश पलायन हुने, गाउँ युवा विहीन हुने जस्ता समस्या हाम्रा सामू रहेको भन्दै एकपछि अर्को गर्दै देशमा समस्यामाथि समस्या खडा हुँदै गएको पनि स्मरण गराउनुभयो । ‘अब हामीले देश जोगाउने हो भने एकजुट हुन आवश्यक छ । नेपाल भूतपुर्व सैनिक तथा प्रहरी संगठन त्यहि असल उदेश्यको एउटा संगठन पनि हो,’ उहाँले भन्नुभयो, ‘हामी देशको कानुन, संविधानलाई ख्यालमा रहेर पार्टीको नीति, विचार र सिद्धान्त भित्र रहेर भूतपूर्व सैनिक तथा प्रहरीलाई पहिचानसहितको जीवन जिउने बनाउनका लागि पनि हामीले यो संगठनलाई अघि बढाउँदै आएका छौँ ।’

उहाँले देशलाई समृद्ध बनाउने हो भने विकास र सुरक्षालाईसँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो । ‘त्यसैले हामीले देशको माटोलाई माया गर्ने भूतपूर्व सैनिक तथा प्रहरीलाई एकतावद्ध गर्दैर उनीहरुको हक–अधिकारको पनि सुरक्षा गर्दै अघि बढाउने उदेश्यका साथ यो संगठनलाई एकताबद्ध गर्दै आएका छौँ,’ उहाँले भन्नुभयो ।

भक्तपुरका अध्यक्ष जिल्ला अध्यक्ष रञ्जन खड्काले अहिलेसम्म भक्तपुरका चारवटैपालिका र २८ वटा वडा कमिटी गठन गरिसकेको भन्दै ‘भूपूको धन, उद्योगमा मन’ अभियानसहित अघि बढेको स्मरण गराउनुभयो । ‘भक्तपुरमा राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन जुझारु बनेर अगाडि बढेको छ, अहिलेसम्म जिललाका चार वटै नगर कमिटीलाई पूर्णता दिन सफल भएका छौं,’ उहाँले भन्नुभयो ‘जिल्लामा रहेका ३८ वटा वडा मध्ये २८ वडामा कमिटी गठन गरेर पूर्णता दिएका छौँ, बाँकी वडामा पनि कमिटी गठन गर्ने तयारीमा छौँ, अहिले जिल्ला, प्रदेश र केन्द्रमा गरेर भक्तपुरका ४०६ जना संगठित भएर अगाडि बढिरहनु भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *