चितवनमा एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंशका बिरामी

चितवन, ७ भदौ । चितवनकाे भरतपुर अस्पतालमा साउनमा मात्र एक सय १७ जना सर्पदंशका बिरामीले उपचार लिएका छन् ।

अस्पतालमा चितवनसहित छिमेकी जिल्लाबाट आएका सर्पदंशका बिरामीले सेवा लिएका हुन् । उपचारमा आएकामध्ये १३ जनालाई एन्टिस्नेक भेनम प्रयोग गरि उपचार गरिएको थियो भने अन्यलाई सामान्य उपचारपछि घर फर्काइएको छ ।

चितवन, नवलपुर, मकवानपुर, तनहुँलगायतका जिल्लाबाट सर्पदंशका बिरामी भरतपुर अस्पताल आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सर्पदंशका बिरामीमध्ये एन्टिस्नेक भेनम औषधिको प्रयोग गर्नुपरेकालाई सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो । उहाँले भन्नुभयो, “गत आर्थिक वर्षमा २२ जनालाई एन्टिस्नेक भेनम दिइएको थियो ।” यस्तै सोही समयमा ७१ जनाको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

सर्पदंशका बिरामी बढी सङ्ख्यामा वर्षात्का समयमा आउने गरेको चिकित्सकले बताएका छन् । वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरीका अनुसार खेती लगाउने समयमा सर्पदंशको समस्या बढी हुने गर्दछ । विषालु सर्पले टोक्दा बिरामीलाई पेट दुख्ने, कमजोरी महसुस हुने, आँखाको परेला झर्ने, हात खुट्टा चलाउन नसक्ने, बान्ता हुने, बेहोस हुनेजस्ता लक्षण देखिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विषादी नभएको सर्पले टोक्दा घाउ हुने र सुनिने मात्रै हुन्छ ।” रुखमा पाइने हरियो सर्पले टोक्दा रक्तश्राप बढी हुने, सुनिनेजस्ता लक्षण देखिने गरेको उहाँले जानकारी दिनुभयो ।

सर्पले टोकेमा दौडिन, हिँड्न र हलचल गर्न नहुने, टोकेको ठाउँमा भन्दामाथि रक्तसञ्चार विस्तारै होस् भनेर बाँध्ने र नजिकैको अस्पतालमा लैजाने गर्नुपर्ने उहाँले बताउनुभयो ।

तेह्र वर्षअघि सर्पदंशका कारण श्रीमती गुमाएका भरतपुर महानगरपालिका–८ का धर्म कार्कीले पछिल्ला वर्षमा सर्पदंशका कारण मृत्यु हुनेको सङ्ख्या घट्दै गएको बताउनुभयो ।