आज ललितपुरमा पञ्जरां मनाइँदै
ललितपुर, ७ भदौ । ललितपुरमा आज पञ्जरां (पञ्चदान) पर्व मनाइयो । पञ्जरां बौद्ध नेवार समुदायले मनाउने एक विशिष्ट पर्व हो । यसमा शाक्य र वज्राचार्य समुदायलाई खीर लगायत धान, चामल आदि वस्तु दान गरिन्छ । यसलाई पञ्चदान पनि भनिन्छ ।
पञ्जरां पर्व काठमाडौंमा मनाइने दिन र ललितपुरमा मनाइने दिन भने फरक छ । त्यस मध्ये आज ललितपुरमा मात्र पञ्जरां मनाइएको हो । यस क्रममा आज बिहानैदेखि ललितपुरका विभिन्न बहाल, बहिल, ननी आदि जस्ता ठाउँहरूमा पञ्चदान ग्रहण गर्ने कार्य गरिएको थियो ।
पहिले पहिले आफूखुशी पञ्जरां ग्रहण गरिने भए पनि अहिले भने समूह बनाई दान ग्रहण जाने चलन आएको छ । समूहमा ग्रहण गरिएको पञ्चदान सामूहिक कार्यमा पनि प्रयोग गरिन्छ ।
पञ्चदान ललितपुरका भित्री शहरका बौद्ध नेवारहरूले मनाउने पर्व हो । भित्री शहरभन्दा बाहिरका विहारहरूमा भने काठमाडौंमा मनाइने दिन नै पञ्चदान पर्व मनाउने चलन रहेको पाइन्छ । काठमाडौंमा भाद्रकृष्ण त्रियोदशीका दिन (यो वर्ष आउँदो भदौ २६ गते) पञ्चदान मनाउने गरिन्छ ।
पञ्जरां ग्रहण गर्ने क्रममा सबैभन्दा अन्तमा फूद्यःचा नामक दीपंकर बुद्धले दान ग्रहण गर्दछन् । सानो आकारको दीपंकर बुद्धको मूर्तिलाई एउटा ढकीमा राखेर जहाँ जहाँ पञ्चदान दिइरहेको हो त्यहाँ लगेर ग्रहण गराइन्छ । फूद्यःचालाई पञ्चदान गरे पछि अरुलाई दिनु हुँदैन भन्ने मान्यता रहेको छ । फूद्यःचालाई दान गरे पछि पञ्चदान समापन हुन्छ ।
काठमाडौंको पञ्चदानमा ‘फूबरे’ लाई दान गरे पछि दानकर्म समापन हुन्छ ।
