पहिरोले दोलखाकाे बिगुमा चार घर क्षति

दोलखा, १० भदौ । दोलखाकाे बिगुमा पहिरोले चार घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गएकाे पहिरोले बिगु गाउँपालिका–३ ओलीटारका चार घरमा क्षति पुर्याएको हो ।

पहिरो आउनु अघि नै घर छोडेर भागेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय कुमार खड्काले जानकारी दिनुभयो । पहिरोबाट स्थानीय राजकुमार ओली, कमलप्रसाद ओली, उद्धवप्रसाद ओली र डम्बरप्रसाद ओलीको घरमा क्षति पुर्याएको छ ।

पहिरोबाट पशुचौपाया र धानखेतीमा क्षति पुगेको उहाँले बताउनुभयो । इलाका प्रहरी कार्यालय सिङ्गटीका अनुसार पहिरोले माथिल्लो तामाकोशी–लामाबगर सडक बगाएको छ । सडक अवरुद्ध भएपछि गौरीशङ्कर र बिगु गाउँपालिकामा आवतजावत गर्न समस्या भएको छ ।