ललिता निवासको छानबिनले सत्ता गठबन्धनकै नेताहरुको भागाभाग, वाइडबडी, गिरीबन्धु टी इस्टेट सबैको छानबिन गरेर आफैं जेल जाऊ : अध्यक्ष ओली

काठमाडौं, ११ भदाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवासको छानबिनले सत्ता गठबन्धनकै नेताहरुको भागाभाग भएको बताउनुभएकाे छ ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्नुहुँदै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले वाइडबडी, गिरिबन्धु टि स्टेटलगाएतका छानबिन गरेर उनीहरु आफै जेल जाने बताउनुभएकाे हाे ।

अध्यक्ष ओलीले भन्नुभयाे, यति होल्डिङको बारे छानबिन गर भनेको वर्षौं भइसक्दा पनि उनीहरुले सकेनन् । अस्तिसम्म ललिता निवास भन्दैथे, अहिले कस्तो भागा भाग छ । एउटा यता ढोकाबाट कुदेको छ, अर्को उताबाट कुदेको छ । यिनीहरुका छानबिन नदेखिएको हो र ?

बिना कानून २०५३ सालमा १९ बिघा जमिन बेच्न दिएको थियो त्यसको छानबिन गर । २०५८/६० मा बिनाकानून ५१ बिघा जमिन बेच्न दिएको थियो छानबिन गर र आफैं जेल जाऊ । हामीले कानून बनाइदिएका हौं, कानूनको आधारमा जग्गा सट्टापट्टा गरेरमात्र बेच्न पाउने भनेको हो । गैरकानूनी ढंगले कमिसन खाएर जग्गा बेच्न दिएको होइन, कानून बनाइदिएको हो, उहाँले भन्नुभयाे ।

अध्यक्ष ओलीले भन्नुभयाे, भष्टहरु कतिसम्मका छन् भने एयरपोर्टबाट सुन तस्करी गरिरहेका रहेछन् । त्यता ध्यान नआजोस भनेर एउटा धतंगाले संसदको रोष्ट्रममा उभिएर केपी ओलीले सुन भनेर पित्तल हाल्यो भनेर करायो । अहिले पनि उद्देश्यमुलक ढंगले त्यहि धतंगा हरेक बेलुका हुँ हुँ कराएको करायै छ । अरु त्यसपछि स्यालहुइया गर्छन् ।

सरकारको संरक्षणमा एयरपोर्टबाट भइरहेको सुन तस्करीलाई निर्वाध चल्न दिन संसदमा पशुपतिको जलहरीको विषय उठाएको पुष्टी भएको उहाँले बताउनुभयाे ।