मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्त्वहरू क्रियाशील छन् : अध्यक्ष केपी ओली

काठमाडाैं, २३ भदाै । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैलाउने तत्वहरू क्रियाशील रहेकाे बताउनुभएकाे छ ।

अखिल नेपाल महिला संघ, मध्यपुर थिमी नगर कमिटीले शनिवार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले हाम्रा चाडपर्वहरूसँग ठ्याक्कै मेल नखाने गतिविधि हुनु सुखद नभएको बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, जात,जाती/वडा, पालिका मिलेर बसेको देख्न नसक्नेहरूले मुलुकमा साम्प्रदायिक विद्वेष फैल्याउने काम गरिरहेको छ ।

अध्यक्ष ओलीले भन्नुभयाे, नेपालीकाे हरेक चाडका पछाडि विशेष अर्थ, विशेष महत्त्व छ । धार्मिक पक्षको रूपमा त्यसलाई विकास गरिएको होला, चाडपर्वको रूपमा विकास गरिएको होला, एउटा परम्परागत हिसाबले विकास गरिएको होला, यसको अन्तर्य चाहिँ के हुन्छ, सारतत्व चाहिँ के हुन्छ ? भन्ने सामाजिक सुप्रबन्धलाई, सामाजिक व्यवस्थालाई अझ राम्रो बनाउनु हो । दसैँको अर्थ पनि त्यही हो, तिहारको अर्थ पनि त्यही हो । दसैँमा नातागोता, आफन्त मान्यजन कहाँ पुग्नैपर्छ । आशीर्वाद लिनै पर्छ ।

एउटा पालिका र अर्को पालिकाका मान्छेहरूसँगै बसेर किन रमाएको होलान् । यसमा पिर गर्नेहरू पनि छन् अहिले । र, साम्प्रदायिक विद्वेष फैल्याउने तत्त्वहरू पनि छन् । चाडको अर्थसँग त्यस्ता सोचहरू ठ्याम्मै मिल्दैनन् । किनभने चाडको अर्थ सामाजिक सद्भाव कायम गर्नु हो । सामाजिक निकटता कायम गर्नु हो । सबै मिलेर रमाउनु हो ।