ललिता निवास प्रकरणकाे थुनछेक बहस सकियाे । आजै थुनछेक आदेश

काठमाडौँ, २४ भदौ : ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा पक्राउ परेका १८ जना प्रतिवादीका तर्फबाट र सरकारी वकिलको तर्फबाट बहस सकिएको हो ।

आज प्रतिवादीका रुपमा समरजंग कम्पनीका तत्कालीन कार्यालय प्रमुख लोकहरी घिमिरेको तर्फबाट बहस भएको थियो । उहाँको तर्फबाट अधिवक्ता मनोज भण्डारी, कञ्चनकृष्ण न्यौपाने र वरिष्ठ अधिवक्ता कमल प्रकाश घिमिरेले बहस गर्नुभएकाे थियाे ।

यसैगरी सरकारी वकिलमा सहायक जिल्ला न्यायाधिवक्ता प्रकाश ज्ञवाली चन्द्र सञ्जेलले उठेका विषयहरुमा जवाफी बहस गर्नुभयाे । त्यससँगै न्यायाधीशले आजै दिँउसो ४ बजेसम्ममा आदेश सुनाउने बताउनुहुँदै इजलास टुंग्याउनुभएकाे थियाे ।

सरकारी लिखत कीर्ते अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा तीन सय १० जनाविरुद्ध अभियोजन दर्ता गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० दिन लगाएर सङ्गठित अपराध कसुरमा घटनाको अनुसन्धान गरे पनि सरकारी वकिलले सङ्गठित अपराध कसुर आकर्षित नहुने भन्दै कीर्तेमा मुद्दा दर्ता गरेको थियाे ।

विसं २०४९ देखि २०६९ सम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको एक सय ४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याइएको थियो । उक्त प्रहरणमा पूर्वमन्त्री, पूर्वसचिव बहालवाला सचिव, पूर्वकर्मचारी, नक्कली मोही, व्यवसायीलगायत विरुद्ध मुद्दा दर्ता भएको छ ।

उक्त प्रहरणमा शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ र कलाधर देउजा मीनबहादुर गुरुङ, घमनकुमार कार्की, गोपाल कार्की र विनोद प्रसाद पौडेल, योगराज पौडेल, नारायणदास मिश्र, अरुण कुमार श्रेष्ठ, ध्रुवप्रसाद अर्याल, केशव तुलाधर, बावुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन, सञ्जयकुमार महर्जन र लोकहरी घिमिरेसहित १८ जना थुनामा रहेका छन् ।

बहसपछि आजै प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश हुनेछ ।