एन्फाका अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं, २५ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

स्थापनइतर समूहले बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो।

एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा दर्ता भएको अविश्वास प्रस्तावमा ४८ सदस्यले हस्ताक्षर गरेका छन् ।

एन्फा पूर्वअध्यक्ष शेर्पा समूहले अविश्वासको प्रस्ताव सोमबार बिहानै इमेलमार्फत पठाएको र भौतिक रुपमा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई बुझाएका हुन् ।

एन्फाको साधारणसभामा ८६ सदस्य छन् । अविश्वासको प्रस्ताव दर्ता गर्न ४० प्रतिशत सदस्यको हस्ताक्षर भए पनि पुग्छ, तर पारित गर्न दुई तिहाई बहुमत चाहिन्छ ।

असन्तुष्ट पक्षहरूले १९ वटा आरोपसहित अध्यक्षविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।

यसअघि क्लबहरूले भर्चुअल साधारणसभा गर्नु विधानविपरीत हुने भन्दै भौतिक उपस्थितिको माग गरेका थिए। उनीहरूले भौतिक उपस्थिति नभए बहिष्कार गर्ने बताएका थिए। एन्फाले जबर्जस्ती रूपमा नै अनलाइन बैठक आह्वान गरेपछि उनीहरू थप आक्रामक बनेका हुन्।

क्लबहरूको चेतावनीलाई वेवास्ता गर्दै एन्फाले आइतबार स्थगित गरेको साधारणसभा एकतर्फी रूपमा सोमबार बोलाएपछि आक्रामक एन्फा पूर्वअध्यक्ष शेर्पासहितकाे टाेलीले अविश्वासकाे प्रस्ताव दर्ता गराएका हुन् ।