कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने
ललितपुर, २९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक गरिने भएको छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज रातिसम्म सबै पदको मतपरिणाम घोषणा भइसक्ने जानकारी दिएका छन्।
सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहितका पदाधिकारीको मतगणना सम्पन्न भइसकेको छ। हाल केन्द्रीय सदस्यतर्फ खुला, महिला, प्रदेशगत, समावेशी तथा अन्य समूहको मतगणना जारी छ। खुला केन्द्रीय सदस्यका ४५ पदका लागि प्रतिस्पर्धा भइरहेको छ।
निर्वाचन समितिले मतगणनालाई तीव्रता दिँदै बाँकी परिणाम पनि आजै सार्वजनिक गर्ने तयारी गरेको हो। धेरै उम्मेदवार र ठूलो सङ्ख्यामा मतगणना गर्नुपर्ने भएकाले सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्न समय लागेको समितिले जनाएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूह बनाएर मतगणना भइरहेको छ।
महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन्। यसअघि वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भएका थिए।
त्यसैगरी महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला सङ्ग्रौला निर्वाचित भएका छन्। खुलातर्फको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन्।
सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको पूर्ण संरचना टुङ्गो लाग्नेछ।
