भक्तपुरमा पञ्चदान पर्व मनाइयो

भक्तपुर, २६ भदाै । भक्तपुरमा पञ्चदान पर्व मनाइएको छ । बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी (पञ्चदान चर्हे)का दिन मनाइने यस पर्वमा पाँंच वटा दीपंकर बुद्धलाई मंगलबार भक्तपुर नगर परिक्रमा गराई मनाइएको हाे ।

काठमाडौं उपत्यकाका र आसपासका केही जिल्लाहरुमा मनाइने पञ्चदान पर्वमध्ये भक्तपुरमा मनाइने पर्वको छुट्टै विशेषता रहेका छन् ।

पर्वका क्रममा भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढीमा पाँच वटा दीपंकर बुद्धलाई विहान भेला गराइएको थियो । त्यहाँंबाट दिनभर तिनलाई नगर परिक्रमा गराउने परम्परा छ ।

यसअघि नगरका पाँंच छुटाछुटै स्थामा राखिएका दीपंकर बुद्धलाई सूर्यमढी ल्याई पुयाउने परम्परा छ । यस अनुसार विहानै प्रशन्नशील महाविहार क्वाठण्डौको मूलदीपंकर बुद्ध, चर्तुब्रह्म महाविहार साकोठाको दीपंकर बुद्ध, मंगलधर्म दीप महाविहार झौरवही पलिखेलको दीपंकर बुद्ध, जयकीर्ति महाविहार थथुवही इटाछेंको दीपंकर बुद्ध र बौद्ध समकृत विहार कुथुवही भक्तपुर मिनीबस पार्कको दीपंकर बुद्धलाई भक्तपुर वडा नं ९ सूर्यमढी टोलस्थित डबलीमा बोकेर ल्याइपुयाइएको थियो ।

सूर्यमढी टोलस्थित आदिपद्म महाविहारमा मूल पुजारी (थाय्पाजु)द्वारा पञ्चदान प्रारम्भ गरेपछि ती पाँच दीपंकर बुद्धलाई नगरका विभिन्न स्थानमा परिक्रमा गराइएको थियो । नगरका विभिन्न टोल, चोकको ठाउँठाउँमा स्वागत गर्ने, विराजमान गराई पूजा चढाउने, विशेष सांगीतिक बाजाको धुनमा नृत्य गराउने, स्त्रोत्र पाठ गरी परिक्रमा गर्ने गराउने परम्परा छ ।

परम्परा अनुसार पाँंच वटा दीपंकर बुद्धलाई विहान सूर्यमढीबाट जेँंला, दतात्रय, क्वाठण्डौ, गोल्मढी, सुकलढोका, महालक्ष्मी, भोलाछें, चोछेंबाट सुकुलढोका ल्याइएको थियो । त्यहाबाट पुन साकोथा, दरवार स्क्वायर, इटाछें, भक्तपुर मिनीबस पार्क ल्याइएको थियो ।

परम्परा अनुसार त्यहाँंबाट फेरि इटाछें, भार्वाचो, बंशगोपाल हुँदै अन्तिममा टौमढी पाँंचतल्ले मन्दिर पुयाइएको थियो । दिनभरिमा टौमढी पुयाइएपछि साँंझसम्म त्यहाँंबाट पुन यथास्थानमा ती बुद्धलाई लगिने गरिन्छ ।

नगर परिक्रमा गर्ने क्रममा हजाराैं नगरबासी सहभागी भइ दान दिएका थिए । दानका रुपमा दैनिक उपभोग्य वस्तु दान गर्ने परम्परा छ । धान, चामल, मकै, गेडागुडीलगायतका खाद्यान्न दान गर्ने परम्परा रहेको छ ।

प्रत्येक वर्ष बौद्ध धर्मालम्वी नेवारहरु ठूलो पर्व पंजदान अर्थात पञ्चदान साँस्कृतिक उत्सवका रुपमा मनाउँछन् । प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यो पर्व काठमाडौं, भक्तपुर, मध्यपुर थिमि, बनेपा, साँखु, पनौतीलगायतका ठाउँमा मनाइन्छ । पाटनमा भने यो पर्व हरेक वर्ष श्रावणशुक्ल अष्टमीका दिन मनाइन्छ ।

त्रिभुवन विश्वविद्यालय बौद्ध शिक्षाका प्राध्यापक पुप्परत्न शाक्यका अनुसार यस पर्वको वास्तविक नाम पंजदान हो । उनका अनुसार पंज संस्कृत शब्द हो । पं अक्षरले पृथ्वी भन्ने अर्थ लगाउँछ भने ज शब्दले उम्रिएको भन्ने जनाउँछ । त्यसैले पृथ्वीमा उम्रिएको वस्तु दान दिने पर्व भएकोले यसको नाम पंजदान हो । त्यसदिन आफ्नो क्षमताअनुसार खासगरी धान, चामल, गहुँ, मास, भटमास, फलफूल, नुन र दक्षिणा गरी सात प्रकारका वस्तुहरु दान गर्ने प्रचलन रहेकाले पनि यस पर्वलाई पञ्चदान भन्न मिल्दैन भन्ने वज्राचार्यको भनाई छ ।