एनपिएलको उद्घाटन खेलमै पहिलोपटक डिआरएस प्रयोग
काठमाडौँ, ९ कात्तिक । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उद्घाटन खेलमै पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रयोग भएको छ। लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा दोस्रो ओभरमै डिआरएस प्रयोग गरिएको हो।
दोस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका शेर मल्लले सुदूरपश्चिमका सइम अयुबविरुद्ध एलबिडब्ल्यूको अपिल गरेका थिए। अम्पायर बुद्धिबहादुर प्रधानले आउट नदिएपछि मल्लले निर्णय पुनरावलोकनका लागि रिभ्यू मागेका थिए।
डिआरएसबाट जाँच गर्दा पनि ब्याटर आउट नभएको देखिएपछि अम्पायरको सुरुआती निर्णय नै सदर भएको थियो।
प्रतियोगितामा प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा असफल रिभ्यू लिन पाउने व्यवस्था छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार डिआरएस लागू गर्न करिब डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ। उक्त खर्च क्यान र आठवटै फ्रेन्चाइज टोलीले साझेदारी गर्नेछन्।
डिसिजन रिभ्यू सिस्टम (डिआरएस) के हाे ?
क्रिकेटमा अम्पायरको निर्णय पुनरावलोकन गर्न प्रयोग गरिने प्रविधि हो। यसमा थ्रीडी बल ट्र्याकिङ, एज डिटेक्सन र ध्वनि विश्लेषण प्रविधिको सहायताले एलबिडब्ल्यू, रनआउट, स्टम्पिङ, नोबल तथा वाइडसम्बन्धी निर्णय जाँच गर्न सकिन्छ।
