भक्तपुरका सडकमा धान सुकाउने पुरानो परम्परा

भक्तपुर

काठमाडौँ, कार्तिक ९ । दसैँ तिहारको आगमनसँगै भक्तपुरका विभिन्न बस्तीका सडक, घरअगाडिका खुला ठाउँ र खाली जग्गामा धान सुकाएको दृश्य देखिन थालेको छ। आधुनिक घर र बदलिँदो जीवनशैलीका कारण धेरै परम्परा परिवर्तन हुँदै गए पनि भक्तपुरमा धान सुकाउने पुरानो चलन अझै कायम छ। यद्यपि, सडकमा धान सुकाउँदा पैदलयात्रु तथा सवारीसाधनको आवागमनमा भने असहजता हुने गरेको छ ।

धान काटेर भित्र्याउने समय सुरु भएसँगै यहाँका किसानलाई धान सुकाउने, केलाउने र भण्डारण गर्ने चटारो परेको छ। विशेषगरी दसैँ–तिहारको समयमा भक्तपुरका परम्परागत बस्तीका सडक तथा खुला ठाउँमा धान फिँजाएर सुकाएको देख्न सकिन्छ। यसले यहाँको कृषि परम्परा, स्थानीय जीवनशैली र सांस्कृतिक पहिचानलाई झल्काउने गरेको छ ।

भक्तपुरमा धान सुकाउँदै गर्नुभएकी मनिषा मचामसीका अनुसार दसैँ–तिहारको समयमा सडकमा धान सुकाउने दृश्य यहाँका लागि नौलो होइन। पहिले अधिकांश घरमा झिँगटीका छाना हुने भएकाले कौसीमा धान सुकाउन सम्भव थिएन । त्यसैले घरअगाडिको खुला ठाउँ, सडक किनार तथा उपलब्ध खाली स्थानमा धान सुकाउने गरिन्थ्यो ।

“पहिले झिँगटीको छाना भएका घर धेरै भएकाले सबैले खुला ठाउँमै धान सुकाउँथे,” उहाँले भन्नुभयो, “अहिले ढलान गरिएका र कौसी भएका घरमा कतिपयले त्यहीँ धान सुकाउने गरेका छन् ।”

भक्तपुरका परम्परागत बस्तीमा घरहरू एकआपसमा जोडिएका र खुला ठाउँ सीमित रहेकाले सडक धान सुकाउने महत्त्वपूर्ण स्थानका रूपमा प्रयोग हुँदै आएको छ। घाम लागेका बेला सडकमा धान फिँजाएर सुकाउने र घाम अस्ताउन थालेपछि उठाएर सुरक्षित राख्ने चलन अझै प्रचलनमा छ।

स्थानीय राजमति कासिछ्वाका अनुसार पहिले सडकमा धान सुकाउनसमेत पालो कुर्नुपर्ने अवस्था थियो। घरमा उत्पादन भएको धान सुकाउन उपयुक्त खुला ठाउँ पाउन सहज थिएन। धान चोरी हुने डरले रातिसमेत त्यसको रेखदेख गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

“राति धान चोरी होला भन्ने डर हुन्थ्यो। त्यसैले धानको थुप्रोसँगै सुत्ने गरेका थियौँ,” उहाँले भन्नुभयो । पछिल्लो समय धान उत्पादन र सुकाउनुपर्ने परिमाण घट्दै गएको स्थानीयको भनाइ छ। सडक आसपासमा सिसी क्यामेरा जडान हुन थालेपछि धानको सुरक्षा गर्न रातभर जाग्राम बस्नुपर्ने अवस्था पनि कम हुँदै गएको छ ।

समयसँगै धान सुकाउने तरिकामा समेत परिवर्तन आएको छ। पहिले सडक सफा गरेर रातोमाटोले लिपेपछि त्यसैमाथि धान फिँजाएर सुकाउने गरिन्थ्यो। अहिले भने धानलाई धुलोमाटोबाट जोगाउन बोरा, प्लास्टिक वा त्रिपाल ओछ्याएर सुकाउने चलन बढेको छ ।

भक्तपुरमा सडकमा धान सुकाउने परम्पराले स्थानीय कृषि संस्कृति र पुरानो जीवनशैलीको झल्को दिए पनि यसलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको छ। सडकमा धान फिँजाउँदा पैदलयात्रु तथा सवारीसाधनको आवागमन प्रभावित हुने भएकाले परम्पराको संरक्षणसँगै सार्वजनिक सडकको सहज प्रयोगमा पनि ध्यान दिनुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *