चीनसँग सम्बन्ध सुधारका पक्षधर जापानका पूर्वप्रधानमन्त्री फुकुदाको निधन
जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन भएको छ। चीनसँगको सम्बन्ध सुधारका लागि पहल गर्नुभएका फुकुदाको निधन अक्टोबर २२ मा भएको जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीका एक अधिकारीले एएफपीलाई जानकारी दिएका छन्।
फुकुदाले सन् २००७ सेप्टेम्बरदेखि सन् २००८ सेप्टेम्बरसम्म जापानको प्रधानमन्त्रीका रूपमा नेतृत्व गर्नुभएको थियो। उहाँले १२ महिनामै पहिलो कार्यकाल टुंग्याउनुभएका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेको स्थान लिनुभएको थियो।
प्रधानमन्त्री रहँदा फुकुदाले चीनसँगको सम्बन्ध सुधारलाई प्राथमिकता दिनुभएको थियो। उहाँकै निमन्त्रणामा तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओले सन् २००८ मेमा जापान भ्रमण गर्नुभएको थियो। एक दशकपछि जापान भ्रमण गर्ने हु पहिलो चिनियाँ राष्ट्रप्रमुख हुनुहुन्थ्यो।
उक्त भ्रमणका क्रममा दुवै देशका नेताले ‘साझा रणनीतिक हितमा आधारित पारस्परिक लाभदायक सम्बन्ध’ निर्माण गर्ने प्रतिबद्धतासहित संयुक्त वक्तव्य जारी गर्नुभएको थियो।
लोकप्रियतामा आएको गिरावटपछि फुकुदाले सन् २००८ सेप्टेम्बरमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि उहाँले सन् २०१२ मा सक्रिय राजनीतिबाट अवकाश लिनुभएको थियो।
जापान र चीनबीच विवादित टापु तथा ऐतिहासिक मुद्दालाई लिएर सम्बन्ध तनावपूर्ण बनेपछि फुकुदा सन् २०१४ मा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गर्न चीन जानुभएको थियो। उहाँको उक्त पहलले सी र तत्कालीन जापानी प्रधानमन्त्री सिन्जो आबेबीच शिखर बैठकका लागि वातावरण बनाउन सहयोग गरेको थियो।
