भक्तपुरको बासु माविमा निःशुल्क सूचना प्रविधि विषय पढाइ हुने

भक्तपुर, भदौ २७ । भक्तपुरको बासु माध्यमिक विद्यालयमा यस वर्षदेखि निःशुल्क प्रि–डिप्लोमा तह सूचना प्रविधि औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन हुने भएको छ ।

ब्यासी कालिघाटस्थित विद्यालयमा आयाेजना भएकाे छलफल कार्यक्रममा विद्यालयले निःशुल्क प्रि–डिप्लोमा तह सूचना प्रविधि औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन हुने जनाएकाे हाे ।

कार्यक्रममा भनपा वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले विद्यालयले सञ्चालन गर्न लागेको औद्योगिक प्रशिक्षार्थी कार्यक्रम उत्पादन श्रमसंग जोडिएको शिक्षा भएकोले बढी प्रभावकारी भएकाे बताउनुभयाे ।

उहाँले औद्योगिक प्रशिक्षार्थी तालिममा सहभागी हुने विद्यार्थीहरुले अध्ययनकै क्रममा उद्योगमा कामसंगसंगै आम्दानी पनि गर्नसक्ने हुँदा विशेषगरी काम खोजीरहेका न्यून आर्थिक अवस्थाका विद्यार्थीहरुलाई कार्यक्रमले सहयोग पुग्ने बताउनुभयाे ।

कार्यक्रममा शिक्षासेवी गणेश प्रसाद सुवालले बासु माविमा नयाँ कार्यक्रम सञ्चालन हुन लागेकोमा खुसी व्यक्त गर्नुका साथै सो कार्यक्रमलाई व्यापक रूपमा जनतामाझ पुर्याउनसके विध्यार्थीहरू लाभान्वित हुने बताउनुभयाे ।

विद्यालयका प्रधानाध्यापक अम्बिका न्याइच्याईले प्रि–डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी कार्यक्रममा एसएलसी उतीर्ण वा एसइइ परिक्षामा न्यूनतम ई ग्रेड प्राप्त विद्यार्थीहरुले आवेदन दिन सक्ने बताउनुभयाे । उहाँले यस कार्यक्रममा आबद्ध हुने प्रशिक्षार्थीहरुले सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका प्रतिष्ठित उद्योग/कम्पनीहरुमा २० महिना न्यूनतम तलबसहित काम गर्ने अवसर प्राप्त हुनेपनि बताउनुभयाे ।