राजकीय सम्मानका साथ नेम्वाङको आज अन्त्येष्टि गरिने, शवयात्राको रुट यस्ताे छ

काठमाडाैं, २८ भदौ । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

उपाध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले बताउनुभयाे ।

सरकारले उपाध्यक्ष नेम्वाङको अन्त्येष्टिका दिन आज सार्वजनिक बिदा दिने घोषणा गरिसकेको छ ।

एमालेले एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष नेम्वाङको शवयात्राको रुट पनि तय भएको जनाएको छ ।

सचिव गगन विष्टले जारी गर्नुभएकाे विज्ञप्तिमा शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज– नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइने उल्लेख छ ।

शवयात्रासहित अन्तिम श्रद्धाञ्जली अर्पणका लागि सहभागी हुन पनि आग्रह गरिएको छ । उपाध्यक्ष नेम्वाङको सोमबार राति हृदयाघातबाट निधन भएको थियो ।