उपाध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि
काठमाडौं, २८ भदौ । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
पशुपति आर्यघाटमा उहाँलाई छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिनुभएकाे छ। लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएर उहाँलाई राजकीय सम्मानका साथ अन्तिम बिदाइ गर्नुभएकाे छ ।
उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गर्नुभएकाे थियाे भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर बिदाइ गर्नुभएकाे थियाे ।
उपाध्यक्ष नेम्वाङलाई अन्तिम बिदाई गर्न पशुपतिमा विशिष्ठलगाएत सर्वसाधारणको उल्लेख्य संख्यामा उपस्थिति रहेकाे थियाे ।
उपाध्यक्ष नेम्वाङको गत मंगलबार हृदयघातका कारण निधन भएको थियो । काठमाडौंको बालुवाटारस्थित निवासमै बेहोस भएका उहाँलाई उपचारका लागि अस्पताल पुर्याउँदा निधन भैसकेकाे थियाे ।