हेटौंडा अस्पतालका इमरजेन्सीबाहेकका सबै सेवा ठप्प, डाक्टरसहित ७८ जनाले दिए राजीनामा

हेटौंडा, २९ भदाै । मकवानपुरको हेटौंडामा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर माथि भएको कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै चिकित्सकहरूले इमरजेन्सीबाहेकका सबै सेवा ठप्प पार्दै आन्दोलन थालेका छन् ।

डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएकाे कुटपिटपछि हेटौंडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सकसहित स्वास्थकर्मीले मेसु डा रामचन्द्र सापकाेटा समक्ष सामूहिक राजीनामा दिएका हुन ।

नेपाल चिकित्सक संघमा आवद्ध सबै संघसस्थाका प्रतिनिधिले मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई सामूहिक पत्राचारमार्फत घटनाको ४८ घण्टा बितिसक्दा पनि प्रहरीले दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै आजबाट आकस्मिक बाहेकको सबै सेवा बन्द गरी आन्दोलनमा उत्रेको अस्पतालका सूचना अधिकारी राजिव झाले जानकारी दिएका छन् ।

एक महिनाअघि डेंगु संक्रमणको कारण मृत्यु भएका हेटौंडा-१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहित केही युवाले बुधबार दुईजना डाक्टरमाथि कार्यक्षेत्रभित्रै कुटपिट गरेका थिए ।

आफूहरूमाथि असुरक्षा बढेको भन्दै आन्दोलनमा उत्रेका चिकित्सक तथा स्वास्थ्यकर्मीले मेसु डा रामचन्द्र सापकाेटा समक्ष सामूहिक राजीनामा दिएको हेटौंडा अस्पतालका सूचना अधिकारी राजिव झाले जानकारी दिए ।

दोषीलाई कारबाही गर्नुपर्ने चौतर्फी दबाब बढेपछि प्रहरीले सीसीटीभी फुटेजको आधारमा डाक्टरमाथि आक्रमण गर्ने मृतककी श्रीमती रमा, छोरा रोहित, छोरी रमिता तथा भतिज अनुप प्रधानलाई पक्राउ गरेको छ ।