सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढ्याे

काठमाडौं २९ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा अवैधरुपमा भएको सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको छ ।

प्रतिनिधिसभाको शुक्रबारकाे बैठकमा धारणा राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुबीच यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय आयोग बनाउने प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयाे, “अवैध सुन तस्करीका सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ । सहमतिअनुसार आयोग बनाउने प्रक्रिया बढेको छ” ।

संसदमा रहेका सात दलबीच भदौ ६ गते सुन तस्करीका विषयमा छानबिनबारे दुई बुँदे सहमति भएको थियो । सहमतिमा सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने उल्लेख छ ।

गत साउन ३ गते सिनामंगलबाट बरामद भएको लगभग ६१ किलो सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अध्ययन गरेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ ।