रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवा आजदेखि सञ्चालनमा
काठमाडौं, ३ असोज । आजदेखि काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा रत्नपार्कको शान्तिवाटिकाबाट उक्त बस सेवा सञ्चालनमा आएकाे हाे ।
उक्त बसका लागि ‘डेडिकेटेड’ लेनको व्यवस्था गरिएको छ । बिहीबारदेखि कार्यालय समयमा बिहान ९ देखि ११ र अपराह्न ४ देखि ६ बजेसम्म द्रुत सेवाका बस सञ्चालनमा आउनेछन् । काठमाडौं उपत्यकाको यातायात क्षेत्रमा सुधार ल्याउने उद्देश्यले द्रुत बस सेवा सञ्चालनमा ल्याएको सरकारले जनाएको छ । रत्नपार्कदेखि सूर्यविनायकसम्म १३ दशमलव ४ किलोमिटर दूरी रहेको छ ।
निर्धारित समयका लागि ४० सिट क्षमताका २५ बस छुट्याइएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले जानकारी दिनुभयो । कार्यालय समयमा अहिले सार्वजनिक यातायातमा यात्रा गर्दा सूर्यविनायकदेखि रत्नपार्कसम्म करिब डेढ घण्टा लाग्दै आएको छ ।
द्रुत बस सेवा सञ्चालन भएपछि सो दूरीको यात्रा करिब ४५ मिनेटमा सीमित हुनेछ । रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडीबुटी, कौशलटार, गट्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत १९ स्थानमा बस स्टप रहनेछ । त्यहाँबाट उक्त बस चढ्न र ओर्लन सकिनेछ ।
“सार्वजनिक सवारी चढेर निश्चित समयमा गन्तव्यमा पुग्न सकिन्छ भन्ने विश्वास दिलाउन सरकारले द्रुत बस सेवा सञ्चालनमा ल्याएको हो, यो सुरुआत मात्रै हो”, महानिर्देशक रिजालले भन्नुभयो, “ती बसका लागि छुट्टै लेनको व्यवस्था गरिएको छ, लेनमा रातो रङ लगाइएको छ, कार्यालय समयमा उक्त लेनमा अन्य सवारी चल्न पाउने छैनन् ।” द्रुत सेवाका बस माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटीलगायत चोकमा जाममा पनि रोकिने छैनन् ।