द्रुत बससेवामा अब ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क पुगिने, भाडा कति लाग्छ ?

काठमाडाैं, ३ असोज । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामै पहिलो पटक ‘बस र्यापिड ट्रान्जिट’ (बिआरटी) अर्थात् द्रुत बस सेवा सञ्चालन भएको छ ।

आज परीक्षणका रुपमा सञ्चालन गरिएको यो सेवा सर्वसाधारणका लागि भने बिहीबारबाट सञ्चालनमा आउने भएको छ ।

भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्मको सडक खण्डमा चल्ने द्रुत बस सेवा सञ्चालन भएपछि यात्रुले ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्क पुग्न सक्ने यातायात व्यवस्था विभागको दाबी छ ।

अरु सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढघण्टा समय लाग्ने गरेकामा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने गरी तयारी गरिएको छ ।

भक्तपुरको लोकन्थलीदेखि जडीबुटी, कोटेश्वर, बानेश्वर हुँदै माइतीघरसम्मको दैनिक हुने जामले भक्तपुरबाट रत्नपार्क पुग्न कार्यालय समयमा कम्तीमा पनि डेढघण्टा लाग्ने गरेकामा अब ४५ मिनेटमै यात्रुलाई भक्तपुर काठमाडौं सेवा दिन सकिने यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुले जानकारी दिनुभयो ।

सूर्यविनायक र रत्नपार्कबाट ३९ सिट क्षमता भएका २५ द्रुत बस सञ्चालन हुनेछन् । यी बस यात्रु कुरेर बस्न पाउदैनन् । विभागले निर्धारण गरेका १९ बसले बस बिसौनीमा यात्रु चढाउने र झार्ने बाहेक यात्रु कुरेर बस्न भने पाउने छैनन् । भाडा भने साविक नै लाग्ने विभागले जनाएकाे छ ।

विभागले सूर्यविनायकबाट सल्लाघारी, राधेराधे, थिमिचोक, चारदोबाटो, गठ्ठाघर, कौशल्टार, लोकन्थली, जडीबुटी, कोटेश्वर, तीनकुने, शान्तिनगर, नयाँबानेश्वर, बबरमहल, माइतीघर, भद्रकाली र अन्तिम रत्नपार्कमा बस बिसौनी तोकिएको छ ।

सडकमा रातो रङगले पोतिएको लेनमा मात्र यी बस सञ्चालन हुन पाउनेछन् । त्यो लेनमा यस अवधिमा द्रत बस र आपतकालीन सेवाका सवारी साधनबाहेक अरु कुनै सवारी साधन चल्न पाउने छैनन् । सूर्यविनायकबाट बिहान ८ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ६ बजेसम्म सञ्चालन हुने द्रुत सेवाका बस दुवैतर्फबाट पाँच/पाँच मिनेटको फरकमा छुट्नेछन् ।