सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, ७ असाेज । बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेकाे हाे ।

आयोगले सिम्रौनगढ नगरपालिका-८ स्थित जनता माविको भवन निर्माणमा अनियमितता गरेको आरोपमा मरासेनीसहित लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी, भवन निर्माण समिति अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्तप्रसाद र कोषाध्यक्ष किरण देवी यादवलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेकाे हो।

उनिहरुविरुद्ध जनही ६ लाख ५८ हजार ४ सय ४० रुपैयाँ १६ पैसा बिगो दाबी गरिएको आयोगका प्रवक्ता भोला दाहालले जनाकारी दिनुभयाे ।

प्रवक्ता दाहालका अनुसार उनीहरूले मधेश प्रदेश सरकारको अनुदानबाट संचालित योजनाहरूमध्ये सिम्रौनगढ नगरपालिका-८ कचोर्वास्थित जनता माविको भवन निर्माणमा अनियमितता गरेका थिए। माविको अनियमितता भएको भन्ने सूचनापछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।