चिकित्सकहरूकाे आन्दोलन आज पनि जारी, गृहमन्त्री र स्वास्थ्य मन्त्रीकाे राजीनामा माग्दै नाराबाजी(तस्बिरहरू)

काठमाडौं, १० असाेज । मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएकाे आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले आज बुधवार पनि माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका छन् ।

चिकित्सकहरूमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका हुन् । आन्दोलनरत चिकित्सकहरूले दोषीलाई कारबाही नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । उनीहरूले विभिन्न नारा लेखिएका व्यानरसहित नाराबाजी गर्दै गृहमन्त्री र स्वास्थ्य मन्त्रीकाे राजीनामा मागेका छन् ।

आन्दोलित चिकित्सकहरुले विदेश पलायन हुन बाध्य नपार, हामी स्वास्थ्यकर्मी एक हौँ, आज डाक्टर कुट्ने भोलि बिरामी भए कहाँ जाने ?असुरक्षा र त्रासमा उपचार कसरी गर्ने ?कामेको हातले उपचार सम्भव छैन, सेतो कोट रातो भए समाज नै कालो हुन्छ, स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।