बागलुङकाे तमानखोला गाउँपालिकामा अभिभावकविहीन बालबालिकाका लागि बालगृह
बागलुङ, १२ असोज । बागलुङकाे तमानखोला गाउँपालिकाले बालगृह सञ्चालनमा ल्याएर अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गरेको छ ।
गाउँपालिकाले वडा नं ३ को तमान गाउँमा ‘तमानखोला बालगृह’ सञ्चालनमा ल्याएर पालनपोषण र कक्षा १२ सम्म पढाउने व्यवस्था मिलाएको हाे ।
सुरुमा ३४ बालबालिका रहेकामा अहिले २७ जना रहेका बालगृह सञ्चालक समितिका संयोजक एवं वडा नं ३ का अध्यक्ष झकबहादुर बुढामगरले बताउनुभयो । गाउँ–गाउँमा पुगेर अनाथ बालबालिका खोजेर ल्याई यहाँ राखेर उनीहरुको पालनपोषण र पढाइको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । अहिले बालबालिको पढाइ राम्रो बन्दै गएको उहाँको भनाइ थियो ।
तमानखोला गाउँपालिका–६ नर्जाखानीका १५ वर्षीय दीपेन्द्र विक हिजोआज तमानखोला बालगृहमा बस्दै आउनुभएको छ । सानै उमेरमा आमा बितेपछि उहाँलाई हजुरबुबाहजुरआमाको जिम्मा लगाइएको थियो । कक्षा ९ मा पढ्ने उहाँ बुढा हजुरबुबाहजुरआमासँग कष्टकर जीवन बिताइरहनुभएको थियो । दीपेन्द्रलाई गत वर्ष गाउँपालिकाले बालगृहमा ल्याएर निःशुल्क पालनपोषण र पढाइ लेखाइको प्रबन्ध मिलाएको छ ।
घरमा हुँदा राम्रोसँग पढ्न र पेटभरि खाना नपाएको बताउँदै दीपेन्द्रले अहिले दैनिक विद्यालय जाने र पेटभरि खान पाएको बताउनुभयो ।
बालगृहमा आफूजस्ता थुप्रै अभिभावकविहीन बालबालिका रहेका भन्दै सबैसँग मिलेर बस्ने गरेको दीपेन्द्रले बताउनुभयो । बेलाबेला गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगायतका जनप्रतिनिधि आएर नयाँ र सिर्जनशील काम गर्न प्रेरित गर्ने र आफूहरूको समस्या बुझ्ने गरेको उहाँको भनाइ थियो । अहिले बालगृहमा रहेका बालबालिकासँग एउटै परिवारको सदस्यजस्तै मिलेर बस्ने तथा आवश्यक सामान समयमै पाउने गरेको विकले बताउनुभयो ।
तमानखोला गाउँपालिका–२ भयर भोङ्गाकी १४ वर्षीया निता सिर्पाली पनि यही बालगृहमा बस्दै आउनुभएको छ । निताको बुबाको मृत्युपछि आमाले अर्को बिहे गरेर जानुभयो । बुबाआमा नभएपछि हजुरबुबा र हजुरआमासँग बस्दै आउनुभएकी निताले सानोमा निकै दुःखदायी जीवन बिताउनुभयो । अहिले बालगृहमा बस्न थालेपछि उहाँको दैनिकी फेरिएको छ ।
बालगृह सञ्चालक समितिका संयोजक बुढामगरले भन्नुभयो, “बालगृह सञ्चालन ताका ३४ जना बालबालिकालाई ल्याएर यहाँ राखेका थियौँ, पछि उनीहरूको आमाबुबा कोही विदेश रहेछन्, आएर लगे । अहिले २७ जनालाई राम्रो व्यवस्थापनका साथ लालनपालन र पढाउने काम भइरहेको छ । समय–समयमा विभिन्न सङ्घसंस्थाले पनि सहयोग गर्ने गरेका छन् ।”
उहाँले बालगृह गाउँपालिकाको लगानीमा सञ्चालन गरिएको जानकारी दिनुभयो । बुढामगरका अनुसार गाउँपालिकाले तमान गाउँमा घरभाडामा लिएर बालगृह सञ्चालन गरेको छ । बालगृहमा कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने बालबालिका छन् ।
गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले कुनै पनि बेसहारा बालबालिकाले दुःख नपाउन् भन्ने उद्देश्यले बालगृह सञ्चालन गरेको बताउनुभयो । बालबालिकालाई पालनपोषण गर्ने, १२ सम्म पढाउने र विभिन्न किसिमका सीपमूलक तालिम दिने, रोजगारीको व्यवस्था मिलाउनेलगायत काम गरिने उहाँको भनाइ थियो ।
