कोशी एमालेको नेतृत्वका लागि ढकाल र खतिवडा, सचिवमा लामा र भण्डारीको प्रतिस्पर्धा
काठमाडौं, १३ असोज । नेकपा (एमाले) कोशी प्रदेशको अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडाले उम्मेदवारी दिनुभएको छ । उहाँहरु दुबै जना मोरङबाट हुनुहुन्छ । प्रदेश राजधानी विराटनगरमा शुक्रबारदेखि जारी नेकपा (एमाले) कोशी प्रदेशको पहिलो अधिवेशनमा प्रदेश कमिटी अध्यक्षका लागि उहाँहरु दुई जनाको उम्मेदवारी परेको हो ।
सहमतिमा नेतृत्व चयनका लागि गरिएका प्रयास असफल भएपछि निर्वाचन कार्यक्रम सुरु भएको हो । उपाध्यक्षमा टिकाराम चेम्जोङको एकल उम्मेदवारी परेको छ । उहाँ अहिले पनि उपाध्यक्ष हुनुहुन्छ । सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीको उम्मेदवारी परेको छ ।
लामा प्रदेश कमिटीका निवर्तमान उपसचिव र भण्डारी पाँचथरका पूर्व जिल्ला अध्यक्ष हुनुहुन्छ । दुई उपसचिवका लागि अहिलेसम्म चार जनाले मनोनयन दर्ता गरेका छन् । संखुवासभाका भविश्वर गुरुङ, खोटाङका देवान राई, झापाका जलबर्षा राजवंशी र मोरङका खेम नेपालीले उपसचिवमा उम्मेदवारी दिनुभएको छ । अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।