जुन भ्रष्टाचारको छानविन गरे पनि सत्तापक्षकै नेताहरु जेल जान्छन्ः महासचिव पोखरेल

कास्की, १५ असोज । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भ्रष्टाचारविरुद्धको अनुसन्धानमा सरकारलाई सहयोग गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभएको छ । सो पार्टीको गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले एमालेकै दबाबमा सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठन भएको दाबी गर्नुभयो ।
देशमा छाएको आर्थिक मन्दीका कारण उद्योगी तथा व्यवसायी समस्यामा परेर निरुत्साहित हुने अवस्था आएको उहाँको भनाइ छ । उहाँले एमाले नेतृत्वमा सरकार छँदा उच्च अङ्कको आर्थिक वृद्धि भएको समेत बताउनुभयो । ‘अहिले जनताको जीवन असहज बनेको छ, व्यापार व्यवसाय ठप्प छन् । उद्योगी व्यवसायी सङ्कटमा परेका छन् । सरकारले त्यसतर्फ ध्यान दिएका छैन,’ पोखरेलले भन्नुभयो ।
उहाँले सरकारले अवैध अर्थतन्त्रलाई प्रोत्साहित गर्ने काम गरेको भन्दै भ्रष्टाचारको विषयमा जनताको बिचमा भ्रम सिर्जना गर्न खोजेको आरोप समेत लगाउनुभयो । सरकारले भ्रष्टाचारको अभियानमा छु भनेर जनताका बिचमा भ्रम सिर्जना गरे पनि सरकारको संयन्त्रको योजनामा त्रिभुवन विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करीको काम भैरहेको भन्दै निष्पक्ष छानबिनका लागि समेत सरकार तयार नभएको आरोप लगाउनुभयो ।
उहाँले एमाले जुनसुकै घटनाको छानबिनका लागि तयार भएको बताउनुभयो । ‘हामी सबै प्रकारका छानविन गर्न तयार छौँ,’ उहाँले भन्नुभयो, ‘तर, अन्त्यमा एमाले होइन सत्तापक्षकै नेताहरु जेल जान्छन् ।’
एमाले गण्डकीको अधिवेशन भोलिसम्म चल्नेछ । अधिवेशनको दोस्रो दिन बन्द सत्र तथा नयाँ नेतृत्व चयन हुनेछ । अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका नौ सय सात प्रतिनिधि सहभागी भएको एमाले गण्डकीका उपसचिव एवं प्रचारप्रसार उपसमिति संयोजक रश्मी आचार्यले जानकारी दिनुभयो ।