कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा
विराटनगर, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिनुभएकाे छ । नेकपा एमाले संसदीय दलका नेतासमेत रहनुभएका कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिनुभएकाे हाे ।
नेता कार्की सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार २२ भदौमा मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे । उहाँले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । तर प्रदेशसभा बैठकअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेकाे हाे ।
अब संविाधानको धारा १६८ (५) अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ ।
संविाधानको धारा १६८ को उपधारा ५ मा भनिएको छ, ‘उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने छ ।’
यसअनुसार सरकार गठन हुन सकेन वा यस उपधाराअनुसार नियुक्त हुने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत पाएन भने प्रदेशसभा स्वतः विघटन हुनेछ र मध्यावधि निर्वाचन हुनेछ ।