इजरायलबाट फर्किन दुई सय बढीले दिए आवेदन, ५५ नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारियाे

काठमाडाैं, २३ असाेज । इजरायलमा रहेका ५५ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएकाे छ भने दुई सय बढीले स्वदेश फर्किन आवेदन दिएका छन् ।

परराष्ट्र मन्त्री एनपी साउदका अनुसार बंकरभित्र आश्रय लिइरहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना विद्यार्थी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना विद्यार्थीलाई इजरायल सरकारको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हाे ।

मन्त्री साउदले भन्नुभयाे, इजरायलको उत्तरी क्षेत्रका फार्म हाउसमा रहेका केही नेपालीलाई पनि सुरक्षित तवरले बंकरमा रहने व्यवस्था मिलाइएको छ । अन्य क्षेत्रमा जोखिममा रहेका नेपालीलाई पनि सुरक्षित स्थानमा राख्नेबारे सरकारले पहल गरिरहेको मन्त्री साउदले बताउनुभयाे ।

उहाँका अनुसार स्वदेश फर्किन दुई सय जनाभन्दा बढीले आवेदन दिइसकेका छन्। इजरायलमा चार हजार पाँच सय जना नेपाली केयर गिभर छन् । यस्तै दुई सय ६५ विद्यार्थी इजरायलमा थिए। यीमध्ये १० विद्यार्थीको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो।

मन्त्री साउदका अनुसार केयर गिभरका रूपमा गएका कामदारहरू भने सुरक्षित छन्।