स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ३८ हजार ५९ जना डेङ्गुबाट सङ्क्रमित
काठमाडौँ, २४ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ५९ जना पुगेको जनाएको छ ।
मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेङगुबाट सङ्क्रमित रहेको र २० जनाले ज्यान गुमाएका छन् ।
महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेङ्गुको सङ्क्रमण कायमै रहेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभएको छ । हालसम्म कूल सङ्क्रमित सङ्ख्यामा प्रदेशअनुसार सबैभन्दा धेरै कोशी प्रदेशमा २३ हजार नौ सय पाँच जना (६२ दशमलव आठ प्रतिशत) सङ्क्रमित भएका छन् भने सबैभन्दा कम सङ्क्रमित कर्णाली प्रदेशमा एक सय २८ जना (शुन्य दशमलव ३ प्रतिशत) छन् ।
त्यस्तै मधेश प्रदेशमा पाँच सय ९० जना (एक दशमलव छ), बागमती प्रदेशमा चार हजार आठ सय ८३ जना (१२ दशमलव आठ प्रतिशत), गण्डकी प्रदेशमा छ हजार आठ सय १८ जना (१७ दशमलव नौ प्रतिशत), लुम्बिनी प्रदेशमा छ सय ५५ जना (१ दशमलव सात प्रतिशत) र सुदूरपश्चिम प्रदेशमा एक हजार ८० जना (दुई दशमलव आठ प्रतिशत) सङ्क्रमण देखिएको छ ।
कुल डेङ्गु सङ्क्रमित सङ्ख्यामा अगष्टमा मात्र सङ्क्रमित सङ्ख्या १३ हजार आठ सय ४६ जना पुगेको थियो । सेप्टेम्बरमा ११ हजार पाँच सय ८० जना र अक्टोबरमा ११ सम्म चार हजार सात सय ९० जना सङ्क्रमित भएका छन् ।
गतवर्ष अक्टोबर महिनामा १७ हजार आठ सय ८९ मा डेङ्गु सङ्क्रमण देखिएको थियो । डेङ्गु रोग डेङ्गु भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ ।