मनाङ एयरको हेलिकप्टर दुर्घटना : पाइलटलाई थप उपचारका लागि मुम्बइ लगियो

काठमाडौं, २८ असोज । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रकाश सढाईंलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

दुर्घटनापछि ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारत लगिएको हो ।

श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको हो ।

शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।

ह्याम्स अस्पतालका अनुसार उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या देखिएकाे जनाएकाे छ ।

घाइते पाइलटको उपचार ह्याम्समा इमरजेन्सी कक्षमा सुरु गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको शरीर र हातको उपचारका लागि ह्याम्सको अपरेसन कक्षमा ‘डेब्रिडेमेन्ट’ र ‘इस्कराटोमी’ गरी उपचार भएको थियो ।

हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो ।