त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली रु ३१ लाख ५० हजारसहित चिनियाँ मूलका भारतीय नागरिक पक्राउ
काठमाडौं, ३० असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नेपाली रु ३१ लाख ५० हजार रूपैयाँसहित चिनियाँ मूलका भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्द ठकुरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज दिउँसो चीनको सिचुआन प्रान्तबाट आइ दिल्लीतर्फ जान लागेको अवस्थामा निजलाई १६ हजार चार सय ३० अमेरिकी डलर, ५४ हजार चार सय ५१ चिनियाँ युआन र पाँच हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो ।
छोदेनलाई प्रहरी वृत्त गौशालामा राखेर आवश्यक अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका छोदेन र उनको साथमा भारतीय राहदानी भएको प्रहरी नायब महानिरीक्षक चन्द ठकुरीले बताउनुभयो ।