दसैँसँगै बाँकेकाे घरबासमा आन्तरिक पर्यटकको चहलपहल
बाँके, ३ कात्तिक । दसैँ आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे) मा आन्तरिक पर्यटककोे चहलपहल बढेको छ ।
वर्षायाममा सुनसान रहेका होमस्टेमा अहिले दसैँको आगमनसँगै घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिकरूपमा बढ्दो रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले बताउनुभयो ।
उहाँका अनुसार बाँके र बर्दियामात्र नभई कर्णाली, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट बढी मात्रामा होमस्टेमा पाहुना घुम्न आउने गरेका छन् । मुलुकका अन्य जिल्लाबाट आउने पाहुनाको सङ्ख्या पनि बढ्दो छ ।
छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ ।
थारू र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली होमस्टेमा दैनिक करिब पाँच सय पर्यटक पुग्ने गरेका छन् । वर्षात्मा सुनसान हुन पुगेको उक्त होमस्टेमा अहिले आन्तरिक पाहुनाको चहलपहल बढेको अध्यक्ष चौधरीको भनाइ थियो । बाहिरी जिल्लाका साथसाथै दसैँ मनाउन बाँके फर्किएका सर्वसाधारण यतिबेला घरबासमा घुम्न आउने गरेको उहाँले बताउनुभयोे ।
काठमाडौँमा अध्ययन गर्दै आउनुभएका नेपालगन्ज–२० राँझा निवासी विशाल शर्मा दसैँ बिदामा घर आएको बेला होमस्टेको स्वाद चाख्न गाभर पुगेको बताउनुभयो । काठमाडौँमा बस्दा गाभर होमस्टेबारे जानकारी पाएकाले अहिले दसैं बिदाको बेला गाभर पुग्ने अवसर मिलेको उहाँले उल्लेख गर्नुभयो ।
दसैँ मनाउन गाउँ फर्केका आन्तरिक पर्यटकहरू होमस्टेमा घुम्न आउने गरेको राप्ती सोनारी–८ स्थित नयाँगाउँ होमस्टेका अध्यक्ष मङ्गल थारूले बताउनुभयो ।
बाँके निकुञ्ज घुम्न आउने पर्यटक अहिले होमस्टेको स्वाद लिन आफूकहाँ आउने गरेको उहाँको भनाइ थियो । दसैँमा घुम्न आएका पाहुनालाई लोकल कुखुरा, ढिक्री, घोंगीलगायत स्थानीय प्राङ्गारिक परिकारले स्वागत सत्कार गर्ने गरेको नयाँगाउँ सात नं होमस्टेकी सञ्चालक शोभी थारूले बताउनुभयो ।