लुम्बिनीबाट शान्तिको सन्देश प्रवाह गर्दा खुसी लागेको छ : महासचिव गुटेरेस

काठमाडाैं, १४ कात्तिक । गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुग्नुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभएको छ ।

उहाँले संसारभर भइरहेका सबै प्रकारका द्वन्द्व अन्त्यका लागि शान्तिभूमिबाट आह्वान गर्नुभएको हाे । आज बिहान पोखराबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी पुग्नुभएका गुटेरेसले विश्व सम्पदा सूचीमा सूचीकृत अशोकस्तम्भ परिसरमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आह्वान गर्छु ।”

बुद्ध जन्मस्थलबाट उहाँले इजरायल, प्यालेस्टाइन, युक्रेन, सुडानलगायत देशमा भएको द्वन्द्व अन्त्य गर्न आह्वान पनि गर्नुभयो । उहाँले विश्वभर नै जलवायु परिवर्तनले वातावरणीय क्षेत्रमा पारेको असरप्रति चिन्ता व्यक्त गर्नुभयो । “शान्ति र मानवता अपरिहर्य विषय हुन्, मानवीयता मर्न दिनु हुन्न”, उहाँले भन्नुभयो, “बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र राष्ट्रसङ्घको ‘मिसन’ मिल्दोजुल्दो छ । यो शान्तिको मुहान लुम्बिनी घुमौँ र यहाँबाट सबैले सिकौँ ।”

त्यस्तै, महासचिव गुटेरेसले शान्ति दीपबाट मायादेवी मन्दिरमा पुगेर दर्शन गर्नुभएको छ । यसअघि उहाँले शान्तिदीपमा दीप प्रज्ज्वलन गरेर मायादेवी मन्दिरसम्म उहाँ पैदल जानुभएको थियो ।

महासचिव गुटेरेसले विकास कोषमा राखिएको अतिथि आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको छ । महासचिवको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचार–प्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धधनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।