भिजन लुम्बिनीको आइपिओ बिक्री खुला
कास्की, १६ कात्तिक । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले सर्वसाधारणका लागि आजदेखि आइपिओ बिक्री खुला गरेको छ ।
माछापुच्छ्रे –२ सार्दिखोलामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको आयोजना हाे । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आइपिओ बाँडफाँटपछि सर्वसाधारणका लागि आइपिओ जारी गरेको भिजन लुम्बिनी उर्जा कम्पनी प्रालिका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार कम्पनीले सर्वसाधारणका लागि कूल २० लाख ७५ हजार दुई सय ८५ कित्ता साधारण शेयर निष्कासन गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको चार लाख ८७ हजार नौ सय १० कित्ता शेयरसहित सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
यसअघि आयोजनाको प्रभावित क्षेत्रका लागि निष्कासन गरिएको चार लाख कित्ता शेयर बिक्री हुन सकेको थिएन । सर्वसाधारणका लागि जारी गरिएको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । यसैगरी अधिकतममा तीन लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
निष्कासन बन्द छिटोमा यही कात्तिक २० गते र ढिलोमा आगामी मङ्सिर १ गतेसम्म हुने कम्पनीले जनाएको छ ।