भारतमा सवारी दुर्घटनामा परी सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु

सुर्खेत, १७ कात्तिक । भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरको तलका भन्ने ठाउँमा सवारी दुर्घटनामा परी एकै परिवारका ५ जना नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा ५ वर्षीय मिलन नेवार, अर्का छोरा २ वर्षीय धड्कन नेवार र भाइ बुहारी सुस्मिता नेवार रहेका छन् ।
घटनास्थल भएको ठाउँ कर्नाटक र महाराष्ट राज्यको बिच भागमा पर्दछ । गोवा जाने मुख्य सडकमा ट्रकको ठक्करबाट गए राति उनीहरूको घटनास्थलमै मृत्यु भएको चौकुने गाउँपालिकाका–७ का वडाध्यक्ष धनीराम धमलाले जानकारी दिए ।
मृतक नेवार परिवार विगत एक वर्षदेखि रोजगारीको सिलसिलामा भारतमा थिए । धमलाका अनुसार सुस्मिताको एक महिना अगाडि मात्रै बिहे भएको थियो । सुस्मिताका श्रीमान पनि भारतमै छन् । यता चौकुनेमा भने बाबुआमा मात्रै रहेको र बाँकी सबै परिवार रोजगारीका लागि भारतमै रहेको धमला बताउँछन् ।